काठमाडौं । स्पेनकी रक्षामन्त्री मार्गरीटा रोबलेसले सोमबार स्पेनले इरानसँग सम्बन्धित युद्धमा संलग्न अमेरिकी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिने घोषणा गरेकी छन्। पश्चिम एसियामा अमेरिका र इजरायलको सैन्य गतिविधिविरुद्ध स्पेनले उठाएको यो कदमलाई महत्त्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।
यसअघि नै स्पेनले अमेरिका–इरान द्वन्द्वका सन्दर्भमा संयुक्त रूपमा सञ्चालन हुने सैन्य अड्डाहरूको प्रयोग गर्न नपाउने स्पष्ट पारिसकेको थियो। प्रधानमन्त्री पेद्रो साञ्चेजले अमेरिका, इजरायल र इरानलाई तत्काल युद्ध अन्त्य गर्न आह्वान गर्दै यसलाई ‘अवैध, लापरवाह र अन्यायपूर्ण’ भनेका छन्।
यसै महिनाको सुरुमा साञ्चेजले भनेका थिए, “एउटा अवैध कार्यको जवाफ अर्को अवैध कार्यद्वारा दिन सकिँदैन, किनकि यस्ता कदमहरूले मानवतामाथि ठूला विपत्तिहरू निम्त्याउँछन्।” रक्षामन्त्री रोबलेसले पनि यही तर्कलाई दोहोर्याउँदै स्पेनको हवाई क्षेत्र युद्धसम्बन्धी कुनै पनि कारबाहीका लागि प्रयोग गर्न नदिइने बताएकी छन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, “यो विषय अमेरिकी सेना र सुरक्षा निकायलाई सुरुदेखि नै स्पष्ट पारिएको थियो। त्यसैले न त हाम्रा सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति छ, न त इरानसँग सम्बन्धित कुनै पनि युद्ध गतिविधिका लागि हाम्रो हवाई क्षेत्र प्रयोग गर्न दिइनेछ।”
यता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने स्पेनको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले अमेरिका नेटो सदस्य राष्ट्रहरूको सुरक्षामा प्रतिबद्ध रहेको उल्लेख गर्दै ट्रान्स–एटलान्टिक सैन्य गठबन्धन अमेरिकाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताए। उनले भने, “नेटोले हामीलाई विश्वका त्यस्ता क्षेत्रमा सेना, विमान र हतियार तैनाथ गर्न मद्दत गर्छ, जहाँ सामान्यतया हाम्रा आफ्नै सैन्य अड्डा हुँदैनन्, र यसमा युरोपका धेरै भागहरू पर्छन्।”