काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनका कार्यक्रम तय गरेको छ।
मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओली पक्राउको विरोधमा जिल्ला, पालिका, वडा, प्रदेश राजधानी र काठमाडौंमा समेत विरोध प्रदर्शन गर्ने मिति तोकिएको छ।
बुधबार (१८चैत)मा दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्नेलगायत निर्णय गरिएको छ।
यी हुन् एमाले सचिवालय बैठकका निर्णय :
१. २५ चैतसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने।
२. २८ चैतमा सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. ३ वैशाखमा वडा तहमा भेला गर्ने।
४. ७ वैशाखमा प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. १२ वैशाखमा राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषय समेत समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने।साथै, भोलि (१८चैत) बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाही लाई जिम्मेवारी दिइयो।
८. संसद्भित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो। साथै, बुधबार दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।