काठमाडौँ। नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठोक्किँदा १३ जना घाइते भएका छन्। बुधबार अपरान्ह ३:४० बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकिराखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्यांकरलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि बसमा सवार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते सबैको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ।
फरार बस चालक र ट्यांकर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने सडक आवागमन भने अवरुद्ध नभएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतिक सिंहले जानकारी दिए। उनका अनुसार उद्धारमा इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी निरीक्षक यम सापकोटाको कमाण्डमा टोली खटिएको थियो।
घाइतेहरूको अवस्था अनुसार केही सामान्य, केही मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
