काठमाडौं । गणतन्त्र कंगोले जमाइकालाई १–० ले पराजित गर्दै ५२ वर्षपछि फिफा विश्वकपमा स्थान बनाएको छ। यसअघि कंगोले सन् १९७४ मा विश्वकप खेलेको थियो, जब यो देश अझै जाइरे नामले चिनिन्थ्यो।
सोमबारको खेलमा टोलीका एलेक्स तुआन्जेबे निर्णायक बने। इन्जुरी समयमा तुआन्जेबेले गरेको गोलले कंगोलाई विश्वकपको यात्रा सुनिश्चित गर्यो।
यस जितसँगै कंगो अमेरिका, क्यानडा र मेक्सिकोमा आगामी वर्ष आयोजना हुने फिफा विश्वकपमा प्रवेश गर्ने १०औँ अफ्रिकी राष्ट्र बनेको छ। कंगो प्रतियोगिताको समूह ‘के’ मा परेको छ, जहाँ कोलम्बिया, पोर्चुगल र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकपमा छनोट भएपछि कंगोका फरवार्ड सेड्रिक बाकाम्बुले खुसी व्यक्त गर्दै भने, “हामी निकै खुसी छौँ। तर, यो जित र सफलताको महसुस अहिले पूर्ण रूपमा गर्न सकेका छैनौँ। जब किन्सहासामा पुगेर घरेलु समर्थकहरूसँग उत्सव मनाउँछौँ तब मात्र जितको सफलता महसुस हुनेछ।”
कंगोका समर्थकहरूले टोलीको सफलता सँगै ५२ वर्षपछि विश्वकपमा आफ्नो उपस्थितिको आनन्द मनाउनेछन्।