म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ स्थित ‘दर्मिजा भ्युपोइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ। ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाँडा’ का रूपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृश्यावलोकन स्थलका रूपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन्।
पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेल परेका दर्मिजाका तातोपानी कुण्ड, जागा झरना, बौसा हान्ने डाडा र नांगेदेवी थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउन पहल थालिएको दर्मिजाका अगुवा बिप्रसाद पुनले जानकारी दिए।
“हिमशृंखला, सूर्योदय, पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न सकिने दर्मिजा दर्मिजा भ्युपोइन्ट पूर्वाधार र प्रचारप्रसारको कामीले ओझेल परेको छ,” उनले भने, “समुदाय स्तरबाट पूर्वाधार निर्माण र प्रवर्द्धनको काम थालिएको दर्मिजा भ्युपोइन्टको विकासका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारबाट बजेट र योजना भित्र्याउन पहल भएको छ।”
दर्मिजा गाउँदेखि दुई घण्टाको उकालो बाटो हुँदै पैदलयात्रा गरेपछि पुगिने दर्मिजा भ्युपोइन्टबाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमशृंखलाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।
समुद्री सतहदेखि २,७०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित दर्मिजा भ्युपोइन्ट वरपर घना जंगल छ। वसन्त ऋतुमा वनपाखामा लालीगुराँस फुल्दा वातावरण उमंग र रमणीय हुने स्थानीयवासी शिव पाइजाले अनुभव सुनाए। म्याग्दी, बागलुङ, पर्वत जिल्लाका ग्रामीण बस्तीहरू अवलोकन गर्न पाइने यो ठाउँ बस्तीदेखि टाढा र एकान्तमा अवस्थित छ।
सहरबजारको कोलाहल, व्यस्त दैनिकी र प्रदूषणबाट टाढा भएर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि दर्मिजा भ्युपोइन्ट उपयुक्त गन्तव्य बन्न सक्छ। यहाँ स्थानीयवासीहरूले वैशाख महिनामा नांगेदेवीको पूजा गर्दछन्। नांगेदेवीको पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने र गाउँमा अनिष्ट नहुने जनविश्वास छ।
नांगेथाननजिकै दगनामका नक्कलबहादुर गर्बुजा र दर्मिजाका इन्दरबहादुर र नरबहादुर मगरले व्यक्तिगत लगानीमा आश्रयस्थल निर्माण गरेका छन्। सोही स्थानका हिराबहादुर पुनको सहयोगमा खानेपानीको व्यवस्था गरिएको छ। हाल बेलायतमा रहेका पुनको सहयोगमा सार्वजनिक शौचालय पनि निर्माणको तयारी भएको छ।
रघुगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दर्मिजादेखि जागा झरना जोड्ने पदमार्ग निर्माण भएको छ । जागा झरना हुँदै दर्मिजा भ्युपोइन्ट जान सकिन्छ।
पदमार्ग निर्माणका लागि गाउँपालिको चालु आर्थिक वर्ष २०८२/८३ मा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। दर्मिजा गाउँमा घरवासको सुविधा छ। दर्मिजाको फेदीमा प्राकृतिक तातोपानीको कुण्ड छ।