काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
अ+
अ-

बुटवल। सञ्चालनको मोडालिटी नबनी लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका विद्युतीय गाडी प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सञ्चालनमा आएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको पत्र प्राप्त भएपछि बुधबारदेखि २ वटा बस सञ्चालन गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव दीपक श्रेष्ठले जानकारी दिए। ‘प्रधानमन्त्री कार्यालयबाट गाडी लुम्बिनीमै चलाउने निर्देशन आएको छ,’ सदस्यसचिव श्रेष्ठले भने, ‘भाडादर र रुट निर्धारण गरेपछि नियमित सञ्चालन हुन्छन्, धेरै समयसम्म नचलेर खुला आकाशमुनि रहँदा ब्याट्री र एसीमा समस्या देखिएको छ, मर्मत गरेर हामी नियमित रूपमा सञ्चालन गर्छौं।’

लुम्बिनीलाई प्रदूषणरहित बनाउँदै पर्यटकको सुविधाका लागि भनेर एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा १९ वटा विद्युतीय बस र ‘भ्यान’ ल्याएको पाँच वर्षसम्म प्रयोगविहीन भएर खुला आकाशमुनि थन्किएका थिए।

कानुनी कारण र विभिन्न बहाना देखाएर रोकिएका बस प्रधानमन्त्री कार्यालयको निर्देशनपछि भने चल्न थालेका छन्।

यसअघि गाडी अलपत्र परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ लैजाने निर्णय गरेको थियो। अहिले दुई वटा बसमध्ये एउटा लुम्बिनीबाट भैरहवा एयरपोर्ट हुँदै बेलहिया र अर्को बस लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट हुँदै कुदानसम्म चल्ने विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत चूडामणि भट्टराईले बताए।

अन्य तीन वटा गाडी पनि मर्मतसम्भार गरी रामग्राम, देवदह र बुटवलसम्म चल्ने उनले बताए। एडीबीको अनुदान सहयोगमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत १३ करोड रुपैयाँ लागतमा कोषलाई विद्युतीय सवारी प्राप्त भएका थिए।

एउटा बसको मूल्य दुई करोड र भ्यानको ४० लाख रुपैयाँ छ। यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा मात्रै ३ करोड ५० लाखभन्दा बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ। यिनै सवारीसाधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रुपैयाँ लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेका थिए।