काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

सेयरबजार

१८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्सेमा ७४.७३ अंकको गिरावट आएको छ। आइतबार र सोमबार लगातार ठूलो अंकले घटेको नेप्से मंगलबार भने बढे पनि बुधबार पुन: दोहोरो अंकले घटेको हो।

नेप्से आइतबार ७१.०५ तथा सोमबार ४७.७१ अंकले ओरालो लागेको थियो। मंगलबार भने नेप्से १९.७० अंकले बढेको थियो। आज बुधबार पनि नेप्से ७४.७३ अंकले घट्दै २७७६.३६ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज २.६२ प्रतिशतले नेप्से ओरालो लागेको हो।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ११.२१ अंकले घटेर ४७३.६३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा २.३१ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स २.६२ प्रतिशतले घट्दा सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ४.०२ प्रतिशतले घट्यो।

सेयर बजारमा बुधबार ३४७ कम्पनीको एक लाख २३ हजार ७३० पटकको कारोबारमा तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आइतबार १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको थियो भने सोमबार १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको थियो। यसैगरी मंगलबार भने ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ कम्पनीका मात्र सेयरमूल्य बढे। २५५ कम्पनीका सेयर मूल्य ओरालो लागे। नेप्सेमा बुधबार १३ समूहको कारोबार भएकामा सबै समूहका उपसूचक राताम्मे बने। आइतबार र सोमबार पनि सबै उपसमूहका सूचक राताम्मे बनेका थिए। मंगलबार भने म्युचुअल फन्ड र अन्य समूहका उपसूचक मात्र घट्दै बाँकी ११ समूहका उपसूचक बढेका थिए।

जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक २.३१‚ विकास बैंक ३.१८‚ फाइनान्स ३.०३‚ होटेल तथा पर्यटन २.१२‚ जलविद्युत् २.८१ तथा लगानी समूहको उपसूचक २.६६ प्रतिशतले ओरालो लागे।

यसैगरी जीवन बिमा २.०२‚ उत्पादन तथा प्रशोधन ०.३९‚ लघुवित्त समूह १.९९‚ म्युचुअल फन्ड ०.९७‚ निर्जीवन बिमा समूहको उपसूचक २.२२‚ अन्य ५.२६ र व्यापार समूहको सूचक ३.९६ प्रतिशतले घट्यो।

नेप्सेमा बुधबार रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। अर्थात् रिलायन्स र सुपर खुदीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै नेपाल रि-इस्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.८४ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा पनि नेपाल रि-इस्योरेन्स अग्रस्थानमा छ। आज नेपाल रि-इस्योरेन्सको ७१ करोड ३१ लाख २६ हजार ६४४ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि कुमारी बैंक लिमिटेड सबैभन्दा अगाडि रह्यो। कुमारीको सेयर १८ लाख ८२ हजार २०९ कित्ता किनबेच भयो। हिजो (बुधबार) कुमारीको सेयर १५ लाख ६० हजार ६१ कित्ता किनबेच भएको थियो। कुमारीको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २२१ रुपैयाँ कायम रह्यो।