काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
अ+
अ-

गण्डकी। गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

२०८१ चैत २२ गते दफावार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरिएको थियो।

प्रदेशसभामा दफावार छलफल भएपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए। त्यसअघि उनले उक्त विधेयक पारितका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिएका थिए।

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको समयको अभावका कारण यस हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकिएको बताए। उनले सुशासन, पारदर्शिता, भ्रष्टचार नियन्त्रण र मितव्ययिता कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको अधिकार स्थापित गर्न सबै पक्षबीच एैक्यबद्धताको खाँचो रहेको धारणा राखे।

बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य कल्पना तिवारी, डिल्लीराम सुवेदी, फणिन्द्र देवकोटा, भक्तबहादुर कुँवर, लिलबहादुर थापामगर र श्यामराजा महतले समसामयिक विषयमा आफ्ना भनाइ राखेका थिए।