काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
अ+
अ-

काठमाडौंसपना प्रधान मल्ल सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएपछि बरिष्ठतम न्यायाधीशका रूपमा मल्लले आजदेखि उक्त जिम्मेवारी सम्हालेकी हुन्।

नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वहन गर्ने व्यवस्था छ।

बरिष्ठ अधिवक्ता तथा पूर्व संविधानसभा सदस्य मल्ल २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। करिब एक दशकको कार्यकालमा उनले लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दामा महत्वपूर्ण नजिर स्थापित गरेकी छन्।

न्यायपरिषद्ले अघिल्लो महिना नै प्रधानन्यायाधीश पदका लागि योग्य ६ जना न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाएको थियो। उक्त सूचीमा मल्लसहित कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदीतिलप्रसाद श्रेष्ठ को नाम समावेश छ।

संविधानअनुसार, सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भइसकेको र ६५ वर्ष उमेर ननाघेको व्यक्ति प्रधानन्यायाधीश हुन योग्य मानिन्छ। तर हाल प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद अपूर्ण अवस्थामा रहेकाले नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढ्न सकेको छैन।

आगामी १९ गते संघीय संसदको अधिवेशन बस्ने तय भएको छ। त्यसपछि सभामुख, उपसभामुख तथा प्रमुख विपक्षी दलको नेता चयन भई संवैधानिक परिषद पूर्ण भएपछि मात्रै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्नेछ। संयुक्त संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

शैक्षिक रूपमा मल्लले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेकी हुन्। उनले दिल्ली विश्वविद्यालय बाट स्नातकोत्तर र हार्वर्ड विश्वविद्यालय बाट जनप्रशासनमा स्नातकोत्तर गरेकी छन्।

न्यायाधीश हुनुअघि उनी अन्तर्राष्ट्रिय संघसंस्था तथा मानवअधिकार क्षेत्रमा सक्रिय थिइन्। साथै, संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा विज्ञ सदस्यको रूपमा पनि काम गरिसकेकी छन्।

यदि उनी पूर्णकालीन प्रधानन्यायाधीश नियुक्त भएमा २०८५ कार्तिक ३० गते ६५ वर्षे उमेरहदका कारण अवकाश हुनेछन्।