काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
तस्बिर : उपराष्ट्रपति यादवको सचिवालय
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले शिष्टाचार भेट गरेका छन्।

यादव र मनिकरबीच बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेट भएको हो। भेटमा उपराष्ट्रपति यादवले राजदूत मनिकरलाई नेपालमा नियुक्ति भएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले भने, “सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रही आएको छ।”

यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदान-प्रदानको आवश्यकता औँल्याउँदै हालै सम्पन्न साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदको नेपाल भ्रमण र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीहरूको साउदी भ्रमणलाई स्मरण गरे।

नेपाली आप्रवासी कामदारका लागि साउदी अरेबिया प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले कामदारहरूको हकहित संरक्षणका लागि साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गर्दै २५ जनवरी २०२६ मा हस्ताक्षर भएको द्विपक्षीय श्रम सम्झौता श्रम सहयोगलाई मजबुत बनाउन महत्त्वपूर्ण भएको बताए।

नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भने, “पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि क्षेत्रमा साउदी अरेबियासहित मित्रराष्ट्रहरूको लगानी र सहयोगको अपेक्षा छ।” उनले दुई मुलुकबीच आर्थिक सहयोग र साझेदारी अभिवृद्धि गर्ने ठूलो सम्भावना रहेको बताए।

पर्यटनका सन्दर्भमा उपराष्ट्रपति यादवले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र नेपालीको मिलनसार व्यवहारका कारण साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने बताए। साथै नेपाली मुस्लिम समुदाय हज तथा उमराहका लागि हरेक वर्ष साउदी अरेबिया जाने गरेको उल्लेख गर्दै यस सम्बन्धमा साउदी सरकारको सहयोगप्रति धन्यवाद दिए।

यादवले नेपाल-साउदी अरेबिया सम्बन्ध संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन तथा एसिया सहयोग संवादजस्ता बहुपक्षीय फोरमहरूमा आपसी सहयोगमार्फत अझ सुदृढ हुँदै गएको र भविष्यमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरे। उनले पश्चिम एसियामा विकसित द्वन्द्वका घटनाप्रति गम्भीर चासो राखे।

राजदूत मनिकरले नेपालको विकासका लागि साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए। उनले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल-साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।