काठमाडौं । पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेसन निकै चाँडै समाप्त गरिने बताएका छन् । आफ्नो भनाइमा ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना त्यहाँबाट निस्कन सक्ने बताएका छन् ।
ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले उनको सरकारले इरानसँग वार्ताका साथसाथै सैन्य कारबाही पनि जारी राखेको बताए । इन्धनको बढ्दो मूल्यबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, “जसरी अमेरिका इरानबाट बाहिर निस्कनेछ, अवस्थामा सुधार आउनेछ र तेलको मूल्य पनि घट्न सक्छ ।”
उनले अमेरिकाले आफ्नो काम लगभग पूरा गरिसकेको र अर्को करिब दुई हप्तामा अपरेसन सकेर सेना फिर्ता बोलाइने दाबी गरे ।
अमेरिकी सेनापछि ट्रम्पले इरानबाट आफ्ना कम्पनीहरूलाई कुनै ठूलो खतरा नरहेको बताए । उनले भने, “के इरानले साँच्चै हमला गर्ने वा कम्पनीहरूलाई उडाउने धम्की दिएको छ र ?” ट्रम्पले इरानले त्यस्तो कुनै कदम नचाल्ने र अमेरिकी कम्पनीहरूमाथि हमला नगर्ने विश्वास व्यक्त गरे ।
उनले इरानसँग परमाणु हतियार नभएको र यसले त्यस्ता हतियार प्रयोग गर्न नसक्ने बताए । ट्रम्पले इरानका धेरैजसो पुराना नेताहरू मरिसकेकाले गर्दा खतरा पहिलेको तुलनामा कम भएको दाबी गरे । उनका अनुसार, अवस्था अहिले पहिलेभन्दा धेरै नियन्त्रणमा छ र चिन्ता गर्नुपर्ने काम छैन ।