काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ चैत्र २०८२
गृहमन्त्री सुधन गुरुङ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश पेस गरेका छन्।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बिहीबार दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश २०८२’ पेस गरेका हुन्।

नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्दसूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गरिएको थियो। गत २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि त्यसका लागि मतदाता नामावली अद्यावधि प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय अन्तर्गतबाट गृह मन्त्रालयअन्तर्गत राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराए।

बैठकमा संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक यही २२ चैतमा बस्नेछ।