काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन्। बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्यहरू पूरा हुने क्रममा रहेको र निकट भविष्यमा नै यस कार्यलाई पूर्णता दिने बताएका हुन् ।
राष्ट्रपतिले सन् २०२५ जुनमा इरानको आणविक कार्यक्रम लक्षित गरी गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’ को चर्चा गर्दै ती आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताए। इरान आणविक हतियार निर्माणको सङ्घारमा पुगेको उल्लेख गर्दै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको पालामा भएको आणविक सम्झौतालाई ठूलो गल्तीको संज्ञा दिए । आफूले सो सम्झौता अन्त्य गर्न पाएकोमा गर्व महसुस गरेको भएको समेत उनको टिप्पणी थियो ।