इन्धन
निगम अझै घाटामा, उपभोक्तालाई मितव्ययी हुन आग्रह
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागिरहँदा नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार बिहीबार मध्यरातबाट लागु हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको छ।
नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः १९९.५०, २०१ र २०२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै डिजेल/मट्टीतेलको मूल्य पनि क्रमशः १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही कारण भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणाली लागू गर्न कठिनाइ भइरहेको बताइएको छ।
हालको अवस्थामा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ३६ पैसा, डिजेलमा १२० रुपैयाँ ५४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि निगमलाई मासिक करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
यसअघि १६ र ३१ मार्चमा प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको घाटा अझै उच्च रहेको र सोहीअनुसार मूल्य समायोजन नगर्दा वित्तीय दबाब बढ्दै गएको उल्लेख गरिएको छ। निगमले भुक्तानी समयमै गर्न नसक्ने अवस्था आउन सक्ने र त्यसले आपूर्ति शृंखलामा असर पार्न सक्ने निगमको चेतावनी छ।
निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोषको प्रयोग गर्दै मूल्य समायोजन गरेको स्पष्ट पारेको छ। साथै, वर्तमान चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन सबै उपभोक्तासँग आग्रह गरिएको छ।
अन्तर्राष्ट्रिय बजारको अस्थिरताले देशको इन्धन आपूर्ति र मूल्य व्यवस्थापनमा थप चुनौती थपिएको निगमको भनाइ छ।
