काठमाडौँ। अमेरिका, इजरायल र इरानबीच जारी युद्धमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ।
रोयटर्सका अनुसार विभिन्न एजेन्सीहरूको पछिल्लो तथ्यांकका आधारमा यो तथ्यांक सार्वजनिक भएको हो। यद्यपि बीबीसीले भने यी तथ्यांकलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकेको उल्लेख गरेको छ।
इरान : ३,५१९ मृत्यु
अमेरिकामा रहेको मानवअधिकार संगठन (एचआरएएनए) का अनुसार इरानमा मारिनेमा कम्तिमा २४४ बालबालिकासहित एक हजार ५९८ नागरिक थिए।
रेडक्रस र रेड क्रिसेन्टले शुक्रबार भनेको छ कि अमेरिका-इजरायली आक्रमणमा इरानमा हालसम्म कम्तिमा एक हजार ९०० जनाको मृत्यु भएको छ। जसमा २० हजार जना घाइते भएका छन्। यद्यपि यो तथ्यांक ४ मार्चमा भएको श्रीलंकानजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमणमा मारिएका कम्तीमा १०४ जनाको मृत्यु भएको छ कि छैन भन्ने कुरा स्पष्ट छैन।
लेबनान : १,३१८ जनाको मृत्यु
लेबनानी अधिकारीहरूका अनुसार मृतकमा १२४ बालबालिका समावेश छन्। इजरायलले २ मार्चमा लेबनानमा आक्रमण सुरु गरेको थियो। त्यसबेलादेखि ४०० भन्दा बढी हिजबुल्लाह लडाकुहरू मारिएका छन्।
छुट्टाछुट्टै घटनामा कम्तिमा नौ लेबनानी सैनिक मारिएका छन्। तीन संयुक्त राष्ट्र शान्ति सेनाका सैनिकहरू पनि मारिएका छन्। तीनैजना सैनिक इन्डोनेसियाली थिए।
इराक : १०७ जनाको मृत्यु
इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मृतकहरूमा सर्वसाधारण, इरान-समर्थित सिया लोकप्रिय परिचालन बलका सदस्यहरू, अमेरिका-समर्थित कुर्दिश पेशमेर्गा लडाकुहरू, प्रहरी र सेनाका कर्मचारीहरू समावेश छन्।
साथै इराकी बन्दरगाहनजिकै ट्यांकरहरूमा भएको आक्रमणमा एक विदेशी चालक दलका सदस्यको मृत्यु भएको थियो। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएको थियो।
इजरायल : १९ जनाको मृत्यु
इजरायली एम्बुलेन्स सेवाका अनुसार इरान र लेबनानबाट प्रहार गरिएको क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा पनि आफ्ना १० सैनिकको मृत्यु भएको बताएको छ। थप २२ मार्चमा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।
अमेरिकी सेना : १३ जनाको मृत्यु
अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएपछि ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य सात सैनिकको मृत्यु भएको छ।
अन्य क्षेत्रमा ज्यान गुमाउनेहरू
संयुक्त अरब इमिरेट्स (११), कतार (७), कुवेत (७), वेस्ट बैंक (४), सिरिया (४), बहराइन (२), ओमान (२) र साउदी अरेबिया (२) मा पनि मृत्यु भएको रिपोर्ट गरिएको छ। -बीबीसी