काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी मागेका छन्। उनले माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिनिधिसभाको आज (बिहीबार) बसेको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उनले सिंगो पार्टी, प्रधानमन्त्री बालेन्द्र शाह तथा सरकारको तर्फबाट दलित समुदायप्रति औपचारिक क्षमायाचना गरे।
उनले ऐतिहासिक रूपमा दलित समुदायमाथि भएको विभेद, अन्याय र अवसर वञ्चनाको स्वीकारोक्तिसहित सरकार सामाजिक न्यायका कार्यक्रममार्फत सुधारमुखी कदम अघि बढाउने विश्वास व्यक्त गरे।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने उल्लेख छ ।
प्रधानमन्त्री शाहले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषद् बैठकबाट पारित एक सय कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने निर्णय भएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने सरकारको प्रतिबद्धता छ । सरकारको वाचाअनुसारै आज पार्टी सभापति लामिछानेले सदनमा खगेन्द्र सुनारको प्रसंग उल्लेख गर्दै व्यक्तिगत रूपमा माफी माग्ने संस्कारलाई राज्यस्तरमा विस्तार गरे।
“खगेन्द्र सुनार सदनमा आउनुभएको छ । उहाँका विषयमा विवाद आउँदा उहाँले माफी माग्नुभयो । तर खगेन्द्र सुनारहरूमाथि युगौँदेखि गरिएको अन्यायका लागि हामीले माफी माग्यौँ‚” लामिछानेले भने, “शताब्दियौंदेखि विभेद, अन्याय र अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दै छ, त्यो पनि यही सदनबाट ।”
सभापति लामिछानेले सरकारले दलित समुदायको न्याय, समान अवसर र समावेशी पुनःस्थापनालाई प्राथमिकतामा राख्दै सुधारमुखी कार्यक्रम घोषणा गर्नेसमेत बताए।
“आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो । किनकि जसको हातमा सीप थियो, उसलाई हामीले अछूत मान्यौ । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु, र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने पनि सुनिश्चित गर्न चाहन्छु‚” उनले भने।