काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनकी नजिककी सहयोगी र कट्टर समर्थक पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानुन कार्यान्वयन अधिकारी अर्थात महान्यायाधिवक्ता (अटर्नी जनरल) पदबाट हटाएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनको प्रशंसा गरेका छन् र उनी अब निजी क्षेत्रमा नयाँ भूमिकामा ‘स्थानान्तरण’ हुने बताएका छन्।
बोन्डीको न्याय विभाग नेतृत्वको कार्यकाल प्रायः जेफ्री एपिस्टिन सम्बन्धी फाइल सार्वजनिक गर्ने विषय र त्यससँग जोडिएको अनुसन्धानले छायामा परेको थियो।
पछिल्ला हप्ताहरूमा पदबाट हटाइएका ट्रम्प प्रशासनका उनी दोस्रो अधिकारी हुन्। यसअघि मार्चमा कृष्टि नोइमलाई पनि पदबाट हटाइएको थियो। बोन्डीको स्थानमा उनका पूर्व उप-प्रमुख टोड ब्लान्ची नियुक्त हुनेछन्।
बोन्डीले आफूले जिम्मेवारी ब्लान्चीलाई हस्तान्तरण गर्न उत्साहित रहेको बताउँदै पद सम्हाल्नु आफ्नो जीवनकै ‘गौरव’ भएको प्रतिक्रिया दिएकी छिन्।