ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताएका छन्।
महिला उद्यमी महासंघ नेपालले ललितपुरमा शुक्रबार आयोजना गरेको ‘नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८२’को उद्घाटन समारोहमा उनले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको बताए। उनले भने, “महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ।”
उपराष्ट्रपति यादवले ‘स्वदेशी उत्पादन उपयोग गरौँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने मूल नारासहित आजबाट सुरु भएको यो तीन दिवसीय व्यापार मेलाले जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्ने, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। “महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ‚” उनले भने, “यसले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ।”
उनले नेपालमा महिला उद्यमशीलता आर्थिक गतिविधि मात्र होइन, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक पनि भएको बताए। उनले भने, “यसले महिलालाई आत्मनिर्भर बनाउने, स्थानीय सीपलाई बजारसम्म पुर्याउने र अर्थतन्त्रलाई मजबुत पार्ने आधार तयार गर्दछ।” यादवले विगतमा घरधन्दा र पारिवारिक जिम्मेवारीमा सीमित महिलाहरू पछिल्लो समय साना घरेलु उद्योगदेखि व्यावसायिक प्रतिष्ठानसम्म सक्रिय भई लैंगिक समानता र सामाजिक सशक्तीकरणमा योगदान पुर्याउनु सकारात्मक रहेको बताए। “खुद्रा व्यापार, हस्तकला, कृषि, पशुपालन, होटेल-रेस्टुरेन्टजस्ता क्षेत्रमा उनीहरूको सहभागिताले रोजगारी सिर्जनामा सहयोग पुगेको छ‚” उनले भने, “ग्रामीण स्रोत-साधनमा आधारित मौलिक उत्पादनले नेपालको सांस्कृतिक पहिचानलाई विश्वसामु प्रस्तुत गरेको छ।”
उनले उद्यमशीलताले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउँदा समाजलाई समावेशी बनाउने उल्लेख गर्दै स्थानीय स्रोत र सीपमा आधारित उत्पादनले वातावरणमैत्री र दिगो विकासलाई पनि प्रोत्साहन गर्ने बताए। “सीमित पुँजीबाट सुरु गरिएका महिला उद्यमीका व्यवसायहरूले ठुलो सम्भावना देखाएका छन्, जसले साना प्रयासले ठूलो परिवर्तन सम्भव छ भन्ने प्रेरणा दिन्छ‚” उनले भने, “सफल महिला उद्यमीहरू अन्य महिलाका लागि आदर्श बनेका छन्, जसले नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्छ।”
उपराष्ट्रपति यादवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आत्मनिर्भर राष्ट्र निर्माणतर्फको प्रेरक कदम भएको उल्लेख गर्दै नेपालका महिला उद्यमीहरूको योगदान हस्तकला, कृषि-पशुपालन, सेवा क्षेत्र र साना उद्योगमा उल्लेखनीय रहेको बताए। उनले भने, “ढाका कपडा र हस्तनिर्मित गहनाले संस्कृतिको संरक्षणमा योगदान पुर्याएका छन्। सौन्दर्य सेवाले आधुनिक व्यवसायमा महिलाको उपस्थिति बलियो बनाएको छ। घरेलु उद्योग र हस्तनिर्मित वस्तुहरूले आयात प्रतिस्थापन र निर्यात सम्भावना बढाएका छन्।”
उपराष्ट्रपति यादवले नेपालको संविधानले स्वदेशी उत्पादन, श्रम, सीप र स्रोतमा आधारित उद्योगलाई प्राथमिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै यसले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने संवैधानिक आधार प्रदान गरेको बताए। “उद्यमशीलता प्रोत्साहन राज्य, निजी क्षेत्र र नागरिक समाज सबैको सहकार्य अपरिहार्य छ‚” उनले भने, “महिला उद्यमीहरूको क्षमता र योगदानलाई सम्मान गर्दै सबैले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ, तब मात्र हामी आत्मनिर्भर, समृद्ध र न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्न सक्छौँ।”