काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसदमा दिएको अभिव्यक्तिलाई औपचारिक रूपमा सच्याएको जनाएको छ।
शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त विषयमा गम्भीर छलफल गर्दै कार्यवाहक अध्यक्षसमेत रहेका बादलको अभिव्यक्तिप्रति स्पष्ट धारणा सार्वजनिक गरेको हो। बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकपछि महासचिव शंकर पोखरेल ले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा दलका नेताले दिएको सम्बोधनबारे गम्भीर समीक्षा गरिएको थियो। पार्टीले संविधान र प्रचलित कानुनअनुसार स्थापित नेपाली सेना, सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध मित्रवत् र यथावत रहेको स्पष्ट पारेको छ, साथै भविष्यमा यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
यसअघि बादलको अभिव्यक्तिप्रति पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल ले आपत्ति जनाएका थिए र सो विषय सचिवालय बैठकमा उठ्ने बताएका थिए।
त्यसैगरी, संसदीय दलको नेता चयन प्रक्रियाबारे सञ्चारमाध्यममा आएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै एमालेले उक्त निर्वाचन पूर्ण रूपमा विधानअनुसार लोकतान्त्रिक ढंगले सम्पन्न भएको स्पष्ट गरेको छ। निर्वाचन समितिले प्रक्रिया पूरा गरी बादललाई निर्विरोध निर्वाचित गरेको र त्यसमा कुनै हस्तक्षेप नभएको पार्टीले जनाएको छ। साथै, यस विषयमा अनावश्यक टिप्पणी नगर्न पार्टीपंक्तिलाई आग्रह गरिएको छ।
बैठकले सरकारको विद्यार्थी संगठनहरू खारेज गर्ने तथा प्रतिबन्ध लगाउने निर्णयको विरोध गर्दै तुरुन्तै फिर्ता लिन माग गरेको छ। साथै, पार्टीका कार्यकर्ता तथा शुभेच्छुक, विशेषगरी महिलामाथि भइरहेका साइबर आक्रमणको निन्दा गर्दै त्यसविरुद्ध सशक्त रूपमा उत्रिन र कानुनी उपचार खोज्न आह्वान गरिएको छ।
सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई दिने निर्णयले प्रेस स्वतन्त्रतामा असर पर्ने भन्दै एमालेले उक्त निर्णय तत्काल फिर्ता लिन पनि माग गरेको छ।
त्यस्तै, बैठकले वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
पश्चिम एसियामा जारी हिंसाका कारण ठूलो संख्यामा नेपाली नागरिक जोखिममा परेको उल्लेख गर्दै उनीहरूको सुरक्षा सुनिश्चित गर्न तथा स्वदेश फर्कन चाहनेलाई सुरक्षित रूपमा फिर्ता ल्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।