यसै विषयमा छलफल गर्न एमालेले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठकमा बादलको अभिव्यक्ति र त्यसले सिर्जना गरेको राजनीतिक सन्देशबारे गम्भीर समीक्षा हुने अपेक्षा गरिएको छ।
एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संसद्मा ‘षड्यन्त्र’ का कथाहरू प्रस्तुत गरिएको टिप्पणी गरेका छन्। उनले सबै दोष अरूलाई थोपर्ने प्रवृत्तिको आलोचना गर्दै वर्तमान अवस्थाका लागि आफ्नै सरकारको कमजोरी पनि जिम्मेवार हुन सक्ने बताएका छन्। पाण्डेले अब ‘घेराबन्दी’ र पुरानो राष्ट्रवादी भाष्यभन्दा आर्थिक सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
त्यस्तै, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्। उनले यस विषयमा सचिवालय बैठकमा गम्भीर छलफल हुने र उपयुक्त निर्णय लिइने अपेक्षा व्यक्त गरेका छन्।
एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको मूल सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सन्दर्भमा प्रतिक्रिया दिँदै जनमतको सम्मान, पराजयको समीक्षा र संवैधानिक संस्थाप्रति विश्वास कायम राख्नुपर्ने बताएका छन्। उनले नेपाली सेना, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको सम्मान रहने स्पष्ट पारे।
संसद्मा बोल्दै बादलले हालैको निर्वाचन परिणामलाई ‘षड्यन्त्रपूर्ण’ भन्दै विभिन्न संस्थाहरूको भूमिकामाथि प्रश्न उठाएका थिए। उनले नेपाली सेना, ब्युरोक्रेसी तथा अन्य पक्षहरूलाई समेत परिणामसँग जोड्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।
बादलको उक्त अभिव्यक्तिपछि एमालेभित्र विचारभिन्नता सतहमा आएको छ भने आजको सचिवालय बैठकलाई निर्णायक रूपमा हेरिएको छ।