काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
मन्त्री रावल र गाउँपालिका तथा नगरपालिका महासंघबीच विभिन्न समसामयिक विषयमा शुक्रबार भएको छलफलका क्रममा उनले यस्तो बताएकी हुन्। मन्त्रालयमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता, अनुदान कटौतीलगायत विषयमा छलफल भएको रावलको सचिवालयले जनाएको छ। छलफलमा स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका वास्तविक समस्या र समाधानका उपाय प्रस्तुत गरेका थिए।
यस क्रममा नगरपालिकाका अध्यक्ष भीम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौतीबारे जानकारी गराउँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। त्यस्तै गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराएका थिए।
महालक्ष्मी नगरपालिकाका उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताइन्।
मन्त्री रावलले स्थानीय तहसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताइन्। उनले नागरिक सन्तुष्ट हुने गरी सेवा दिन सरकार प्रतिबद्ध रहेको र जनताको अपेक्षा स्थानीय सरकारमार्फत प्राथमिकतामा राखेको बताइन्। स्थानीय तहका पदाधिकारीहरूले कर्मचारी खटाएर सहयोग गरेकामा मन्त्रालयलाई धन्यवाद दिएका थिए।