काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र कुनै गुटसँग आबद्ध नरहेको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै कोइरालाले आफूलाई विभिन्न समूहसँग जोडेर भइरहेको प्रचारप्रति असन्तुष्टि व्यक्त गरे। सामाजिक सञ्जालमा फैलिएको भ्रमलाई उनले स्पष्ट रूपमा असत्य भएको बताए।
कोइरालाले आफ्नो प्राथमिक लक्ष्य नेपाली कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको उल्लेख गर्दै, त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीलाई एकजुट बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्ति बनाउने इच्छा व्यक्त गरे।
उहाँले भने, “नेपाली कांग्रेसलाई एकढिक्का बनाउन र एक ठाउँमा ल्याउन म अन्त्यसम्म प्रयास गर्छु। म कुनै पनि समूहमा छैन।”
कार्यक्रममा कोइरालाले विपी कोइरालाको नाममा स्थापना भएको अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न अवकाश प्राप्त चिकित्सकहरूको योगदान महत्वपूर्ण हुन सक्ने विचार पनि राखे।