काठमाडौँ। धादिङको ज्वालामुखी गाउँपालिकामा ६ भदौ २०३१ मा जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको दशौँ सभामुखमा निर्विरोध निर्वाचित भए।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ ९ बाट निर्वाचित भएका थिए। वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन्।
नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए। विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील छन्।
व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा रास्वपा स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी रास्वपाका संस्थापक उपाध्यक्ष हुन्।
संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उनले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा प्रक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गरेका थिए।
प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे।
प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। उनलाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढंगले संसद् सञ्चालन गर्न चुनौतीपूर्ण छ।
विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ। सभामुखले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने जनताबाट उच्च अपेक्षा र उहाँको दायित्व बनेको छ। -रासस