काठमाडौँ। जिल्ला अदालत काठमाडौँले लुम्बिनी प्रदेश सभाकी नेकपा एमाले सांसद रेखा शर्मा थुनामुक्त गरेको छ।
न्यायाधीश जगत पौडेलको इजलासले आज (आइतबार) प्रदेश सभा सदस्य शर्मालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले १६ जेठ २०८२ मा शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो।
पहिल्यै निर्णय भइसकेको विषयमा पुनः प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको हिरासत मुक्त गर्न जारी आदेशमा भनिएको छ।
प्रदेशसभा सदस्य शर्मालाई घरमा बालश्रमिक राखेर श्रमशोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। अदालतले पीडितलाई यातना दिई दास बनाई राखेका हुन् भन्ने आरोपित तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रतितलायक प्रमाण मिसिल संलग्न रहेको नदेखिएकोसमेतका आधार कारणबाट प्रस्तुत मुद्दामा रेखाकुमारी शर्माउपर दास बनाउन नहुने कसूरमा मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएकाले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट संकित रेखाकुमारी शर्माको हकमा प्रस्तुत त्रास बनाउन नहुने मुद्दा नचलाउने गरी भएको निर्णय तथ्य र कानुनसम्मत रहेको ठहर गरेको छ।