काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरू बुझ्न र अनुसन्धानसम्बन्धी थप कार्य बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिब देखिएको उल्लेख गर्दै म्याद थप गर्न अनुमति दिएको हो।
आदेशमा भनिएको छ, “थप अनुसन्धान गर्ने तथा प्रमाणहरू बुझ्नेसमेतका अनुसन्धानसम्बन्धी थप कार्यहरू बाँकी नै रहेको देखिँदा उल्लेखित अनुसन्धानको प्रयोजनका लागि प्रतिवादीलाई हिरासतमा राख्न मनासिब देखिँदा निज प्रतिवादी प्रतिवादी पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हिरासतमा राखी उपर्युक्त लेखिएबमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागु हुने गरी ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिएको छ।”
अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले यही २१ चैतदेखि लागु हुने गरी पाँच दिन म्याद थपको अनुमति दिएको हो। यसअघि अदालतले सुरुमा पाँच दिन र पछि दुई दिन म्याद थप गरेको थियो।
सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो। जेन-जी आन्दोलनको बेला एमाले ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए। आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर यही १४ चैतमा दुवै जनालाई पक्राउ गरिएको थियो।
यो पनि…