शनिबार र आइतबार सार्वजनिक बिदा‚ आगामी शैक्षिक सत्र १५ वैशाखदेखि सञ्चालन
काठमाडौँ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णय सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा भोलि (सोमबार) देखि लागु हुनेछ।
बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैंक र विश्व बैंकबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ।
यसैगरी बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ। साथै डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय वाहनमा परिवर्तन गर्न व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। आगामी शैक्षिक सत्र १५ वैशाखदेखि सञ्चालन गर्ने निर्णय भएको छ।