काठमाडौं । दुई महिनापछि लुम्बिनी प्रदेशसभा बैठक आज (आइतबार) बस्ने भएको छ । प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।
बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।