काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट प्रवाह हुने सेवामा कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार र अनियमितता नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी मातहतका निकायबाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई थप संवेदनशील, सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले सेवा प्रवाह प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, गैरकानुनी शुल्क असुली, बिचौलियाको संलग्नता तथा सम्पूर्ण सेवाग्राही र विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र कमजोर अवस्थाका समुदायलाई अपमानित, असुरक्षित वा असहज बनाउने कार्यहरूलाई कडाइका साथ निषेध गरिएको जनाएको छ।

मन्त्रालयले भनेको छ, “मानवअधिकार, समानता र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको गरिमा, सुरक्षा र सम्मान सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो। यस सन्दर्भमा कुनै पनि नागरिकले दुर्व्यवहार, उपेक्षा, हिंसा वा अन्याय भोग्न नपरोस् भन्ने हाम्रो दृढ प्रतिबद्धता छ। यदि यस्ता कुनै अनुचित गतिविधि वा व्यवहार भएको पाइएमा सम्बन्धित निकायमा लिखित वा मौखिक उजुरी दिनुहुन अनुरोध गरिन्छ। प्राप्त गुनासालाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायमार्फत आवश्यक छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।”

समावेशी, सुरक्षित र मर्यादित समाज निर्माणमा सबैको सहकार्य, संवेदनशीलता र जिम्मेवारी अपरिहार्य रहेको जनाउँदै मन्त्रालयले यस अभियानमा साथ, सहयोग र सजगता अपनाउन अनुरोध गरेको छ।