काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ चैत्र २०८२
तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालय
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरेका छन्। आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्तालाई नेपालमा लगानीका लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीलाई उनले आग्रह गरे।

राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा यस्तो आग्रह गरेका हुन्। “नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ। नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन‚” उनले भने। नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन अझ प्रभावकारी भूमिका निर्वाह गर्न उनको आग्रह छ।

उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताए। “भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजार हाम्रा समीप र पहुँचमा छन्‚” उनले भने। यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकीकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए। उनले भने‚ “यसका लागि बहुपक्षीय साझेदारी अत्यावश्यक हुन्छ। त्यसमा तपाईंहरूले आर्जेको पुँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी साबित हुन सक्छ।”

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम् र जटिल परिस्थितिले एउटा निकास पाएको उनको भनाइ थियो। “नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्‚” उनले भने।

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैरआवासीय नेपाली संघले आफ्ना तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गरे। त्यसअवसरमा संघका नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए।