काठमाडौँ। राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध भएकी छन्।
उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेपछि सोमबारको राष्ट्रिय सभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
बैठकमा राष्ट्रिय सभा सदस्य प्रेमप्रसाद दंगालले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत पारित भएपछि अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
नवनिर्वाचित उपाध्यक्षको शपथ र पदभार मंगलबार हुने संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको अर्को बैठक २५ चैतमा बोलाइएको छ।