काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

‘नेपालको सेयरबजार पारदर्शी छ’

२३ चैत्र २०८२
अर्थमन्त्री स्वर्णिम वाग्ले।
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अफवाह फैलाउने र ‘इन्साइडर ट्रेडिङ’ गर्नेलाई निस्तेज पारिने बताएका छन्। उनले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै ‘इन्साइडर ट्रेडिङ’ गर्नेलाई निस्तेज पार्ने बताए।

यद्यपि सेयरबजारमा सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको उनको भनाइ छ। सेयरबजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकार नरहेको उनको भनाइ छ। यही कारण लगानीकर्ता आत्तिनु नपर्ने अर्थमन्त्रीको आश्वासन छ।

स्टक मार्केटबारे उनले बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता जनाए। “सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई देखाउँदै केही समूहले चलखेल गर्न खोजेको छ,” नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलमा उनले थपे, “तर पनि इन्साइडर ट्रेडिङ गर्ने र नियमविपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ।”

सेयरबजारमा भएको लगानीको वैधता खोज्नेबारे अहिले नै सरकारले छलफल नगरेको अर्थमन्त्रीको भनाइ छ। “सेयरबजारमा आएको लगानी वैध र अवैध भनेर अनुसन्धान सुरु भएको छैन। किनकि सेयरबजारमा चेक र बैंकिङ माध्यमबाट कारोबार हुन्छ,” उनले थपे। सोहीकारण सेयर लगानीकर्ताले आत्तिनु नपर्ने बताउँदै सरकार बन्नुअघि र बनिसकेपछि सेयरबजार घट्नुपर्ने गरी अर्थतन्त्रमा व्यापक परिवर्तन आइनसकेको बताए।

अर्थमन्त्रीसँगको भेटमा नाफिजका पदाधिकारी।

यस्तै मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको उल्लेख गर्दै उनले सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए। युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउनेभन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकतासाथ उद्धार गर्ने काम भइरहेको उनको भनाइ छ। अर्थमन्त्री वाग्लेले सरकारले अनावश्यक तामझामका साथ कारबाही नगर्ने तर वर्षौंदेखि अनुसन्धान भएर थन्किएका मुद्दालाई अगाडि बढाइएको स्पष्ट पारे। नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन पनि सरकारले सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिए।

सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने भएकाले आगामी १५ जेठमा आउने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताए। यसैगरी सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनबारे उनले गोरखकालीलगायत केही संस्थाहरूलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र यसलाई आगामी बजेटमा समेटिने बताए।

छलफलका क्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले अर्थतन्त्रबारे जानकार व्यक्ति मन्त्रालयमा आउँदा देशले आर्थिक विकासमा फड्को मार्ने अपेक्षा चौतर्फी रहेको बताइन्। उनले सरकारले प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन फितलो हुने समस्या रहेको हुँदा अर्थतन्त्रबारे जानकार मन्त्रीले यसबारे सोचविचार गर्नुपर्ने बताइन्।

यस्तै राजस्व संकलनको लक्ष्य एकातिर र संकलनको तथ्यांक अर्कोतिर हुने गरेको विगतको परिपाटीलाई चिर्नुपर्ने उनको भनाइ थियो। यसबाहेक अर्थ मन्त्रालय र नाफिजबीच विगतदेखि नै सहकार्य भइरहेको हुँदा देशको समग्र आर्थिक विकासमा सहकार्य गरेर अघि बढ्न नाफिज तत्पर रहेको अध्यक्ष कार्कीको भनाइ छ।