महोत्तरी। महोत्तरीमा दुईवटा मोटरसाइकल ठोक्किएर आगो लागेको छ। मोटरसाइकल ठोक्किएर लागेको आगोमा जलेर तीन विद्यार्थीको मृत्यु भएको छ।
प्रहरीका अनुसार जलेश्वर-बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज (मंगलबार) दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको हो। यो घटनामा थप तीन विद्यार्थी सख्त घाइते भएका छन्।
घाइते तीनैजनाको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।
प्रहरीले मृतक तथा घाइते कसैको पनि परिचय खुलाएको छैन। भट्टका अनुसार मोटरसाइकल पनि जलेर नम्बरप्लेटसमेत नदेखिने अवस्थामा छ। मंगलबार बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर-बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका ५‚ बथनाहा गाउँमा ठोक्किएका थिए।
ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी भएको थिए। दुईवटा मोटरसाइकलमा तीन-तीनजना यात्रारत थिए। ती सबै एसइई दिएर फर्किएका विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ।