मन्त्रीको निर्देशन
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन्।
सेवाप्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नुपर्ने उनले उल्लेख गरिन्। उनले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुनअनुसार कारबाही भोग्न तयार रहन चेतावनीसमेत दिइन्।
“मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्। कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस्‚” रावलले भनिन्, “नापी र मालपोतमा पुग्दा जनताले सबैभन्दा बढी हैरानी भोग्ने गरेका छन्। अब सबैभन्दा सहज यिनै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस्।”