काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

मन्त्रीको वरीयता

वरीयता क्रमको १५औँ नम्बर अर्थात् सबैभन्दा पुछारमा श्रममन्त्री दीपककुमार साह।

२४ चैत्र २०८२
मन्त्रिपरिषद्को बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् ।

१३ चैतमा मन्त्रिपरिषद्‌ विस्तार गर्दा तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई अब पाँचौँ स्थानमा राखिएको छ। चौथो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढाउँदै तेस्रोमा राखिएको छ। सबैभन्दा पुछारमा अर्थात् वरीयताको १५औँ नम्बरमा श्रममन्त्री दीपककुमार साह छन्।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार पहिलोमा प्रधानमन्त्री शाह हुँदा दोस्रोमा अर्थमन्त्री स्वर्णिम वाग्ले छन्। यसैगरी मर्यादाक्रमको चौथोमा विराजभक्त श्रेष्ठ छन् भने छैटौँमा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री सुनील लम्साल छन्।

यसैगरी सातौँदेखि १५औँसम्म क्रमश: कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम‚ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी‚ संघीय मामिला तथा सामान्य प्रशासन‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल‚ स्वास्थ्य तथा जनसंख्या‚ खानेपानीमन्त्री निशा मेहता‚ शिक्षा‚ विज्ञान तथा प्रविधि‚ युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल‚ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल‚ सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना‚ कृषि तथा पशुपक्षी विकास‚ वन तथा वातावरणमन्त्री गीता चौधरी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहको वरीयता तोकिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषद्को वरीयता हेरफेर।