काठमाडौँ। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ परेका छन्।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावारी नगरपालिका-१२ का २५ वर्षीय आयुष कार्की र काठमाडौँ महानगरपालिका-३१ बस्ने डोटी घर भएका २७ वर्षीय किरण ताम्राकारलाई पक्राउ गरेको हो।
आयुषलाई ललितपुर गोदावरी नगरपालिका-१२ बाट र किरणलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सर्बिया पठाइदिन्छु भन्दै आयुषले एकजना पीडितबाट १८ लाख ९० हजार रुपैयाँ र जर्जिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट किरणले तीन लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थिए।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।