काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल। तस्बिर : पोखरेलको सचिवालय
अ+
अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि मंगलबार आयोजित कार्यक्रममा उनले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सरकारको प्रवक्तासमेत रहेका पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रको सुधार क्रमशः हुँदै जाने बताए। पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने उनको भनाइ छ।

“विगतमा पहुँच कम भएका विद्यालय/विश्वविद्यालयमा सरकारले बढी प्राथमिकतामा राखेको छ‚” उनले भने‚ “आगामी पाँच वर्षभित्र क्रमशः हरेक क्षेत्रमा सुधार गर्दै जानेछौँ। पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइनेछ।”

मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीलाई निर्देशनसमेत दिए। उनले भने, “अबको पाँच वर्ष नेपालका लागि टेस्ट पिरियड हो। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद सबै क्षेत्रको आ-आफ्नै महत्त्व छ। हामी सबै साझेदार भएर काम गर्नुपर्छ।”

‘फाप्ला क्रिकेट रंगशालालाई विश्वसँग जोड्छौँ’
यसअघि आजै शिक्षामन्त्री पोखरेलले धनगढिस्थित फाप्ला क्रिकेट मैदानको निरीक्षण गर्नुका साथै खेलाडीहरूसँग अन्तरक्रियासमेत गरे। त्यस अवसरमा उनले फाप्ला क्रिकेट रंगशालालाई विश्वसँग जोड्न राज्यले विशेष महत्त्व दिएको उल्लेख गरे। उनले भने, “सबैभन्दा ठुलो क्षेत्रफल भएको र धेरै संख्यामा दर्शक अट्ने प्यारापेट भएको फाप्ला क्रिकेट रंगशालालाई राज्यले महत्त्वका साथ लिएको हुनाले नै अहिलेको अवस्थामा आइपुगेको छ। यसको स्रोत व्यवस्थापन र सञ्चालन प्रभावकारितालाई ध्यान दिनेछौँ।”

भोलि (बुधबार) कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा अर्थात सिनेट बैठकको अध्यक्षता गर्ने तथा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।