काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। सरकारले भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले आइतबार उक्त निर्णय गरेको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार निर्णयपछि सोमबार सम्बन्धित राजदूतहरूलाई लिखित जानकारी पठाइएको छ। उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ।

फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधर (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) रहेका छन्।

यसअघि सत्तारूढ दलका सभापति रवि लामिछानेले संसदमार्फत सार्वजनिक रूपमा ती राजदूतहरूलाई राजीनामा दिन अपिल गरेका थिए।

नेपालका १७ देशस्थित कूटनीतिक नियोगहरू अहिले नेतृत्वविहीन बनेका छन्। पछिल्लो समय ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णयसँगै यस्तो अवस्था सिर्जना भएको हो। यद्यपि पछिल्ला ६ महिनादेखि राजदूत फिर्ता गर्ने क्रम जारी रहे पनि रिक्त स्थानहरूमा नयाँ नियुक्ति भने अझै हुन सकेको छैन।