बुटवल। रुपन्देहीमा रहेका अर्घाखाँचीको छत्रगन्जका बासिन्दाले प्रतिनिधिसभा सदस्यहरूलाई अनौठो मायाको चिनो दिएका छन्।
छत्रगन्ज-रुपन्देही समाजले आयोजना गरेको कार्यक्रममा अर्घाखाँचीमा रहेको मुख्य समस्याहरूको सांकेतिक तस्बिरसहितको मायाको चिनो दिएका हुन्। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा रास्वपाबाट निर्वाचित हरिप्रसाद भुसाल र अर्घाखाँचीमा जन्मे हुर्केकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाललाई बाँदर र बँदेलले हैरानी पुर्याएको भन्दै मायाको चिनोस्वरूप प्रदान गरिएको बधाईपत्रमा उल्लेख छ। बधाई पत्रमा बाँदर र बँदेलका कारण खेतीबालीमा भइरहेको क्षतिबाट चिन्तित र प्रभावित भएको अवस्थालाई चित्रित गरिएको समाजका अध्यक्ष सिद्धार्थ पन्थीले जानकारी दिए।
उनले जननिर्वाचित सांसदहरूले जनताका समस्यालाई सम्झिरहुन् भन्ने उद्देश्यसाथ बधाईपत्रमै उल्लेख गरेर प्रदान गरेको बताए। “उहाँहरूलाई दिइएको मायाको चिनो स्वरूपको बधाई पत्रमा बाँदर र बँदेलका कारण भोग्दै आएको समस्या र अरू समस्यासमेत समेटेर सांकेतिक तस्बिर राखेर दिएका छौँ,” उनले भने‚ “यो मायाको चिनो उहाँहरूले आफ्नो घरमा भित्तामा राख्नुभयो भने जनताका समस्यालाई सधै सम्झिइरहनुहुनेछ भन्ने हाम्रो उद्देश्य हो।”
