काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी-बबई, रानी जमरा कुलरिया र सुनकोसी-मरिनजस्ता सिँचाइ आयोजना अब अलपत्र अवस्थामा नछोडिने बताएका छन्। ७३औं सिँचाइ दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सुनकोसी-मरिन आयोजनाको पुनः खरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए। उनले भेरी-बबई आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको पनि बताए।
त्यस्तै गण्डक, नारायणी, बागमती, सुनसरी-मोरङजस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुन:स्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने‚ “वास्तविक अवरोध कहाँ छन् ? त्यसको जानकारी दिनुहोस् हामी समाधानको प्रयास गर्नेछौं।” उनले कर्मचारीहरूसँग रहेको प्राविधिक ज्ञान कुनै नीतिगत दस्ताबेजले प्रतिस्थापन गर्न नसक्ने भन्दै कर्मचारीलाई निर्देशनको पालना गराउने मात्रै होइन आफूले साझेदारी गर्न चाहेको उल्लेख गरे।
अबका दिनमा सिँचाइ खेतमा पानी पुर्याउने माध्यमका रूपमा मात्र नहेरेर पानीलाई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनलाई जोड्ने गरी एकीकृत प्रणालीको व्यवस्था गरिने मन्त्री श्रेष्ठको भनाइ छ।
“पानीले ऊर्जा, सिँचाइ, कृषि कुन मन्त्रालय, कुन विभागको कार्यक्षेत्र हो भन्ने चिन्दैन‚” उनले भने‚ “अवरोध अन्त्यका लागि अन्तर मन्त्रालय र निकायबीच समन्वय अनिवार्य छ।” उनले तल्लो तटीय फाइदा, बाढी नियन्त्रण, नदी किनारमा बस्ने समुदायलाई के कस्ता लाभ पुर्याउन सकिन्छ भन्ने विषयलाई पनि मन्त्रालयको नीतिमा समावेश गरिएको बताए।