बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका ११, बुट्टाबारीमा रहेको कपास प्रशोधन उद्योगमा आगलागी भएको छ। आगलागीका कारण ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
रौतहटका नुर मोहमदद्वारा सञ्चालित उद्योगमा लागेको आगो सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सातवटा दमकलको सहयोगमा निभाइएको थियो।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आगलागी भएको खबर प्राप्त हुनासाथ बिर्तामोड, मेचीनगर, दमक, कमल गाउँपालिका, भद्रपुर र शिवसताक्षी नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो। सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहभागितामा आगो निभाइएको हो।
इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले आगो पूर्ण रूपमा निभाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए। आगलागीबाट उद्योगका मेसिन, कच्चा पदार्थ तथा तयारी सामग्री नष्ट भएका छन्।