बुटवल। बुटवलको थोक बजारमा बेच्न राखिएको हरियो बोडीमा अत्याधिक विषादी प्रयोग गरेको भेटिएपछि नष्ट गरिएको छ।
प्रयोगशालामा परीक्षण गर्दा खानयोग्य नभएको पाइएपछि विषादीयुक्त १२० केजी बोडी नष्ट गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा हरियो तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्दा चितवनबाट ल्याइएको बोडीमा अत्यधिक मात्रामा विषादी प्रयोग भएको पाइएको उनले बताए। केन्द्रमा रहेको प्रयोगशालाले हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमुना संकलन गरी परीक्षण गर्दै आएको छ।
परीक्षण गर्दा चितवनबाट आएको हरियो बोडीमा अर्गानोक फस्टफोरेस्ट समूहको विषादी ९७.०६७ प्रतिशत भेटिएपछि नष्ट गरिएको भण्डारीको भनाइ छ। प्राविधिकहरूका अनुसार विशेषगरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी भेटिने गरेको छ। किसानले विषादी प्रयोग गरेपछि कुर्नुपर्ने ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिएको हो।
भण्डारीका अनुसार शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोगयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ। तर ४५ प्रतिशतभन्दा माथि पुगेमा भने त्यस्ता तरकारीलाई अनिवार्य रूपमा नष्ट गरिनुपर्छ।