काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको दाबी गरेका छन् ।
बुधबार साँझ फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै उनले सञ्चारमाध्यममार्फत आफूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको जानकारी पाएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’
देउवाले आफ्नो र परिवारको सम्पत्तिबारे झुटा प्रचार भइरहेको दाबी गर्दै वास्तविकता समयसँगै स्पष्ट हुने बताएका छन्। साथै, सार्वजनिक पदमा रहँदा आफूले सम्पत्तिको विवरण सम्बन्धित निकायमा पेश गरिसकेको पनि उनले उल्लेख गरेका छन्।
यसअघि काठमाडौं जिल्ला अदालतले देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि दम्पतीलाई फरार सूचीमा राखिएको बताइएको छ।
गृह स्रोतका अनुसार, उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजी अघि बढाउन इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने तयारीस्वरूप पक्राउ पुर्जी प्रक्रिया अघि बढाइएको हो।
देउवाले आफू हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देशको नाम खुलाएका छैनन्। उनले लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको दाबी गरेका छन्। साथै, अतिरञ्जित विवरणबाट भ्रमित नहुन सबैलाई अपिल गरेका छन्।