काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ।

गुवाहाटीमा गएराति वर्षाका कारण ढिलो सुरू भएको खेल ११ ओभरमा सीमित गरिएको थियो। टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनायो।

राजस्थानका ओपनर यशस्वी जैसवालले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा १० चौका र ४ छक्कासहित ७७ रन बनाए। उनलाई वैभव सूर्यवंशीले १४ बलमा ३९ रन बनाएर साथ दिएका थिए। दुई ओपनरबीच ८० रनको साझेदारी भएको थियो।

मुम्बईका अलाह गजनफरले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए।

१५१ रनको लक्ष्य पछ्याएको मुम्बईको शुरुवात राम्रो हुन सकेन। पावर प्लेभित्रै ३ विकेट गुमाएको मुम्बई ११ ओभरमा ९ विकेट गुमाएर १२३ रनमा सीमित भयो ।

मुम्बईका लागि शेर्फेन रदरफोर्ड र नमन धिरले समान २५ रन बनाए। तिलक वर्माले १४ रन बनाए। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

राजस्थानका लागि नान्द्रे बर्गर, रवि विश्नोई र सन्दीप शर्माले २-२ विकेट लिँदा जोफ्रा आर्चर र तुषार देशपान्डेले १-१ विकेट लिए।

लगातार तेस्रो जितसँगै ३ खेलमा ६ अंक जोडेको राजस्थान शीर्षस्थानमा उक्लिएको छ । ३ खेलमा २ अंक भएको मुम्बई सातौं स्थानमा छ।