काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
अ+
अ-

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा जारी सूचनामा आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली दर्ता क्रमअनुसार प्रकाशन गरिने उल्लेख छ। उपसभामुखको निर्वाचन भने  २७ गतेका लागि तय गरिएको छ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक लिंग तथा फरक–फरक दलबाट हुनुपर्ने व्यवस्था भएकाले कसले उपसभामुख पद पाउने भन्ने अझै स्पष्ट भइसकेको छैन। प्रतिनिधिसभा नियमावली, नियम ७ अनुसार सभामुखले तोकेको मिति र समयमा निर्वाचन हुने प्रावधान छ, जसअनुसार मिति निर्धारण गरिएको हो।

हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ। २७५ सदस्यीय सदनमा रास्वपा १८२ सांसदसहित स्पष्ट बहुमतमा रहेको छ। अन्य दलहरूमा कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद रहेका छन्।

रास्वपाको एकल बहुमत भएकाले उसले समर्थन गर्ने उम्मेदवार नै उपसभामुख बन्ने सम्भावना प्रबल छ। एमाले बाहेक अन्य दलहरूले उपसभामुख पदमा दाबी प्रस्तुत गरेका छन्। यद्यपि, रास्वपाले अहिलेसम्म कुनै दललाई औपचारिक समर्थन जनाएको छैन।