काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
केपी शर्मा ओली र रमेश लेखक। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानतमा रिहा भएका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेको १३ दिनपछि दुवै जनालाई रिहा गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार सरकारी वकिलको सहमतिमा आवश्यक परेका बेला उपस्थित हुने शर्तसहित उनीहरूलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

भदौ २३/२४ मा भएको जेन-जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी अनुसन्धान गर्न सिफारिस गरेपछि ओली र लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले तेस्रो पटक म्याद थप गरेको थियो।

१४ चैतमा पक्राउ परेपछि ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा राखिएका थिए भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी बलको २ नम्बर गणमा राखिएको थियो।

यसैबीच, बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत्र २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान सकिएपछि हिरासत मुक्त गर्न परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार अदालतबाट थपिएको म्याद बुधबार सकिएपछि प्रहरीले दुवै जनालाई रिहा गर्न लागेको हो।