काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
प्रधानमन्त्री बालेन्द्र शाह।
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज (बिहीबार) आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।

उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए। फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने उनले विश्वास व्यक्त गरे।

समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै पुरस्कृत गरे। समारोहमा १८३ अधिकृत क्याडेटले आयुक्त पद प्राप्त गर्दै कवाज प्रदर्शन गरेका थिए।

त्यस अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गरे। प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट तथा पदिक र बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ तथा एक हजार ६०८ प्राविधिक अधिकृतले सफलतापूर्वक तालिम पूरा गरिसकेका छन्।

सन् २०१२ देखि विदेशी शिक्षार्थीसमेत सहभागी गराइ तालिम सञ्चालन हुँदै आएकामा हालसम्म विभिन्न राष्ट्रका ३२ विदेशी शिक्षार्थीले तालिम सम्पन्न गरिसकेका छन्।