काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ चैत्र २०८२
स्वास्थ्य मन्त्रालय। फाइल तस्बिर
अ+
अ-

काठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि देशभरका अस्पतालहरूमा ओपिडी (बहिरंग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर, सहज र प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न मन्त्रालयले सबै सम्बन्धित निकायलाई अनुरोध गरेको हो।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्ति मूल्याङ्कन गर्दै आइतबार ओपिडी सेवा सञ्चालन गर्नुपर्नेछ।

आइतबार सेवा प्रवाहका लागि खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को दिन बिदा दिने वा त्यसो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू हुने जनाउँदै सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग आवश्यक समन्वय गर्न भनिएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सेवाको निरन्तरता सुनिश्चित गर्न अस्पतालहरूले आवश्यक व्यवस्थापन मिलाउनुपर्ने उल्लेख गरिएको छ।