इन्धन अभाव
दैनिक घाटा ९३ करोड
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेसँगै नेपाल आयल निगम वित्तीय संकटमा पुगेको छ। निगमले इन्धन बचतका लागि उपभोक्तासँग अपिलसमेत गरेको छ।
मध्यपूर्वमा जारी युद्धको प्रभावका कारण इन्धनको मूल्य अस्वाभाविक रूपमा बढ्दा निगमले घाटा बेहोर्नुपरेको अपिलमार्फत सार्वजनिक गरेको छ। निगमका अनुसार हालको मूल्य समायोजनले पनि घाटा कम गर्न सकेको छैन। पछिल्लो तथ्यांकअनुसार निगमलाई दैनिक करिब ९३ करोड रुपैयाँ घाटा भइरहेको छ। यसअघि सरकारद्वारा भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिँदा घाटा केही घटेर दैनिक ६८ करोड रुपैयाँमा झरेको थियो।
निगमले ३ अप्रिलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मात्र मूल्य बढाएको थियो। तर खरिद मूल्यअनुसार समायोजन हुन नसक्दा पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँभन्दा बढी, डिजेलमा १२० रुपैयाँभन्दा बढी र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा भएको जनाएको छ।
यसैबीच इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न दबाब बढेपछि निगमले इन्धनमा पुन: मूल्य बढाएको छ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा ६ रुपैयाँ बढाएको हो।
यो पनि…
पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि, ग्यासको मूल्य पनि बढ्यो
अपिलमार्फत निगमले गत ८ अप्रिलमा मात्र २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। आगामी २३ अप्रिलमा थप १६ अर्ब ३७ करोड रुपैयाँ तिर्नुपर्ने दायित्व रहेको निगमको भनाइ छ।
यस्तो जटिल परिस्थितिमा आपूर्ति प्रणाली नै प्रभावित हुन सक्ने जोखिम बढेको भन्दै निगमले इन्धनको खपत घटाउन उपभोक्तासँग अपिल गरेको जनाएको छ।