पश्चिम एसियामा घाइते नेपालीको संख्या २८
काठमाडौँ। परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीको सुरक्षा, हित र उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ।
मन्त्रालयका अनुसार पश्चिम एसियामा घाइते हुने नेपालीको संख्या २८ पुगेको छ। घाइतेमध्ये २७ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एक नेपाली अझै उपचाररत छन्। उनको अवस्था खतरामुक्त रहेको मन्त्रालयले जनाएको छ।
“पश्चिम एसिया क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा र हितमा सरकारले काम गरिरहेको छ,” परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री भन्छन्, “त्यसमा सरकार गम्भीर छ।”
मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालले यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानसँग टेलिफोन संवाद गर्दै नेपाली नागरिकको सुरक्षा विषयमा छलफल गरेका छन्। मन्त्रालयले संकटको अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमर्जेन्सी कन्ट्रोल रुम चौबीसै घण्टा सञ्चालनमा रहेको जनाएको छ।
अहिलेसम्म उक्त कन्ट्रोल रुममा १३२ कल आएको र २६४ पटक विभिन्न माध्यमबाट सम्पर्क भएको मन्त्रालयको भनाइ छ। साथै उडान अवरुद्ध हुँदा पश्चिम एसियामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन समस्या भएको उल्लेख गर्दै मन्त्रालयले अहिले उडान नियमित हुन थालेपछि शव व्यवस्थापन र ल्याउने काम सुरु भएको जनाएको छ।
दक्षिण पूर्वी एसियामा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा फसेका नेपालीको उद्धारसमेत गरेको मन्त्रालयले जनाएको छ। ९ अप्रिलसम्म कुल ५५१ नेपालीको उद्धार गरिएको हो।
तीन नेपालीलाई आममाफी
मन्त्रालयको प्रेस ब्रिफिङमा कतारले तीन नेपालीलाई आममाफी दिएको जानकारी दिइएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले रमदानको अवसरमा तीन नेपालीलाई आममाफी दिएको मन्त्रालयले जनाएको छ। उनीहरूको अभियोग सार्वजनिक गर्न उपयुक्त नहुने भन्दै मन्त्रालयले विवरण गोप्य राखेको छ।
यो साता परराष्ट्र मन्त्राललयको ब्रिफिङमा प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौँस्थित विभिन्न देशका राजदूत तथा नियोग प्रमुखहरूको संयुक्त शिष्टाचार भेटबारे पनि चासो राखिएको थियो। प्रधानमन्त्रीको भेटमा भारत, चीन, अमेरिका, जापान, फ्रान्स, जर्मनी, कतारलगायत देशका राजदूत सहभागी थिए।
प्रधानमन्त्रीले नेपालले सन्तुलित र व्यावहारिक परराष्ट्र नीति निरन्तरता दिने, लगानीमैत्री वातावरण बनाउने तथा विकास साझेदारसँग सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेको गरिएको जनाइएको छ।
यस्तै परराष्ट्रमन्त्री खनाल इन्डियन ओसन कन्फ्रेन्समा सहभागी हुन प्रस्थान गरेको पनि मन्त्रालयले जानकारी दिएको छ।