पोखरा। पोखरामा माइजूको हत्यामा संलग्न भान्जा पक्राउ परेका छन्।
पोखरा ८‚ सभागृह चोकमा २५ चैतको साँझमा ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।
स्कुटीमा आएका दुई युवामध्ये एकले साझ ७:१५ बजे बाटोमा हिँडिरहेकी केसीमाथि हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट सख्त घाइते केसीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको थियो। चिकित्सकले साँझ ८:१८ बजे मृत घोषणा गरे।
केसीको हत्यामा संलग्न दुई अभियुक्तलाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरीका अनुसार एक अभियुक्त मृतकका भान्जा हुन्।

पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिका ११ स्थायी घर भई अहिले पोखरा ६ मा बस्दै आएका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखरा १७‚ रातोपहिराका ३२ वर्षीय कुशल परियार छन्। उनीहरूलाई २७ चैत (शुक्रबार) मा रूपन्देहीको बुटवल र कास्कीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट केसीको पारिवारिक विवाद रहेको खुलेको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुसार भान्जा पर्ने २७ वर्षीय शिशिरले इगो साँधेर सुनियोजित हत्या गरेका हुन्।

पति कृष्ण क्षेत्रीको मृत्यु भएपछि सिर्जना एकल जीवन बिताउँदै आएकी थिइन्। उनकी ४ वर्षीया छोरी पनि छन्। घटनाको थप अनुसन्धान जारी रहेको र पक्राउ परेकामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।